Loading...

गौरव र दयाहाङ सँग साइँलीको ‘नाँच माया’

गायक हेमन्त रानाको स्वरमा रहेको चर्चित गीत ‘साइँली’ नाम सापटी लिएर निर्माण भएको फिल्म ‘साइँली’ को पहिलो गीत सार्वजनिक गरिएको छ। गायक रानाकै जन्मोत्सवको अवसर पारेर ‘नाच माया…’ बोलको गीत सार्वजनिक गरेको हो। गीतमा गायक हेमन्तले नै स्वर भरेका छन् भने हर्क साउदको शब्द रहेको गीतमा सुशान्त गौतमको संगीत सुन्न सकिन्छ। विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा कलाकारहरु गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई र केनिपा सिंह फिचर्ड छन्।

चैत १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। कथा पनि उनकै हो। ‘गीतकै भाव अनुसार फिल्मलाई तयार गरेका छौ’ निर्देशन गुरुङ भन्छन ‘ गीतमा वैदेशिक रोजगारीमा गएका गौरव र गाउँमा घाँसपात गरेर बसेकी मेनुकाको प्रेमभाव प्रस्तुत गरिएको छ।’ गायक हेमन्त राना र गौरव पहारीले मिलेर फिल्म निर्माण गरेका हुन्।

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ। फिल्ममा विशाल गुरुङ र मोहन थापा निर्मातामा छन्। बिजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह-निर्माताको रहेको फिल्मको कार्यकारी निर्माता मणिराम पोखरेल हुन्। फिल्ममा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत सुन्न सकिन्छ।

Loading...